काठमाडौं, १८ जेठ । समस्याग्रस्त कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।
उनीमाथि बैंकमा अध्यक्ष तथा सीईओ भई २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
बाँके घर भएका ६५ वर्षीय राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो ।
कर्जा दुरूपयोग गरेको भन्दै रायलाई राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१ मा ५ लाख जरिवाना समेत गरेको थियो । हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।