काठमाडौं, १८ जेठ । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
के.आई.सिंह गाउँपालिका–५ केदार गाउँमा आइतबार बिहान साढे ९ बजे सु.प.प्र. ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको जिप आइतबार बिहान ९ः३५ बजे मोडमा अनियन्त्रित भई दुघर्टना भएको प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए । उनका अनुसार जिप सडकबाट एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उहाँको दुई वर्षीया छोरी रियान्सा देउवा रहेका छन् ।