काठमाडौं, १९ जेठ । नेपाल प्रहरीले सोमबार यात्रुको सहजीकरणका लागि दुई वटा बस सञ्चालनमा ल्याएको छ । यातायात व्यवसायीको आन्दोलनले आज सार्वजनिक यातायात सेवा बन्द गरेपछि नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको हो ।
दुई वटा बस छुट्टाछुट्टै रूटमा चल्नेछन् । नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन ।
पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनः नक्साल घुम्नेछ ।
त्यस्तै, दोस्रो रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ ।
यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत सात बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् ।
यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । यसले सर्बसाधारण मर्कामा परेका छन् ।