सार्वजनिक यातायात बन्द हुँदा आज पनि प्रहरीको निःशुल्क बस सेवा

अनलाइनसमय |
२० जेठ २०८२
सार्वजनिक यातायात बन्द हुँदा आज पनि प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचलेपछि आज पनि नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गरेको छ । यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज पनि निःशुल्क बस सेवा संचालन गरेको हो ।

हिजोको जस्तै आज पनि बिहानैदेखि दुई प्रमुख रुटमा प्रहरीका बस सर्वसाधारणका लागि संचालन गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सवारी व्यवसायीहरूले गाडी सञ्चालन नगरेपछि यात्रुहरू अलपत्र नपर्न भनेर प्रहरी प्रधान कार्यालय, नक्सालबाट काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसहरू छुटाइएका छन् ।

पहिलो रुटमा बस नक्सालबाट छुटेर बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हलसम्म सञ्चालन हुँदैछ । दोस्रो रुटमा भने नक्सालबाट छुटेका बसहरू रातोपुल, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज हुँदै पुनः नक्साल फर्किनेछन् ।

यसैबीच प्रहरीले सवारी भाडामा अनियमितता हुन नदिन कडाइ गरेको छ । राइड सेयरिङमार्फत सेवा दिने राइडरहरूलाई यात्रुसँग निर्धारित भन्दा बढी भाडा नलिन चेतावनी दिइएको छ । त्यस्तै भाडा अनियमितता भएमा तत्काल नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन पनि यात्रुलाई आग्रह गरिएको छ ।

सार्वजनिक सवारी अवरुद्ध हुँदा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस