गाजा सहायता केन्द्र नजिक गोलीबारी हुँदा २७ प्यालेस्टिनीको मृत्यु

अनलाइनसमय |
२० जेठ २०८२
गाजा सहायता केन्द्र नजिक गोलीबारी हुँदा २७ प्यालेस्टिनीको मृत्यु

काठमाडौं, २० जेठ । गाजाको दक्षिणी सहर रफाहमा राहत सामग्री लिन जाँदै गरेका प्यालेस्टिनीहरू तेस्रो दिन पनि गोलीबारीमा परेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र नासेर अस्पतालका अनुसार मंगलबार बिहानको गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इजरायली सेनाले रफाहस्थित तेल अल–सुलतान क्षेत्रमा राहत लिन जाने क्रममा रहेका मानिसहरूलाई लक्षित गरी गोली चलाएको हो ।

केही व्यक्तिहरू ‘निर्धारित बाटोबाट नहिँडी’ सैनिकतर्फ आएको भन्दै सुरुमा चेतावनीको रूपमा गोली चलाइएको र पछि ती मानिसहरू नहटेकाले ‘सीमित रूपमा सीधा फायर’ गर्नुपरेको इजरायली सेनाले बताएको छ । सेनाका अनुसार घटनामा मृत्यु भएको पुष्टि भने गर्न बाँकी छ । घटनापछि घाइतेलाई रफाह नजिकैको खान युनिसस्थित नासेर अस्पताल पुर्‍याइएको थियो ।

नासेर अस्पतालका निर्देशक डा. मार्वान अल–हम्सले अस्पताल क्षमताभन्दा धेरै घाइतेहरू आउँदा उपचारमा अप्ठ्यारो भइरहेको बताए । ‘आईसीयूमा कोही मरेपछि मात्र अर्को बिरामीलाई राख्न सकिन्छ,’ उनले दुखेसो पोखे । अधिकांश घाइतेलाई गोली लागेको र घाउ शरीरको माथिल्लो भागमा केन्द्रित रहेको उनले जनाए । अस्पतालले तत्काल रक्तदानको अपील समेत गरेको छ ।

घटनास्थल रफाहको अल–आलम चोक नजिकै हो, जहाँ पछिल्ला दुई दिन पनि यस्तै गोलीकाण्ड भएको थियो । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अनुसार मंगलबार पनि सोही क्षेत्रमा मान्छेहरूलाई लक्षित गर्दै गोली चलाइएको हो । सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस