मस्कले ट्रम्पको कर विधेयकलाई आलोचना गर्दै भने, ‘घिनलाग्दो र अकल्पनीय’

अनलाइनसमय |
२१ जेठ २०८२
मस्कले ट्रम्पको कर विधेयकलाई आलोचना गर्दै भने, ‘घिनलाग्दो र अकल्पनीय’

काठमाडौं, २१ जेठ । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित कर र खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई ‘घिनलाग्दो र अकल्पनीय’ भन्दै आलोचना गरेका हुन् ।

यो विधेयक अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट गत महिना पारित भएको थियो । यसमा अर्बौं डलर बराबरको कर छुट, रक्षा क्षेत्रमा थप खर्च र सरकारले अझै धेरै ऋण लिन पाउने प्रावधानहरू छन् ।

‘यसको लागि मतदान गर्नेहरूलाई लाज लाग्छ,’ मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । सरकारी दक्षता विभाग (डीओजीई)मा १२९ दिन काम गरेपछि अर्बपति मस्कले गत हप्ता प्रशासन छोडेका थिए । त्यसपछि सार्वजनिक रूपमा ट्रम्पप्रति उनको यो पहिलो आलोचना हो ।

अघिल्लो पटक उनले यो विधेयकलाई ‘निराशाजनक’ भनेका थिए, तर यसपटक उनी अझ कडा रूपमा प्रस्तुत भएका छन् । उनले लेखेका छन्, ‘यो विधेयक अत्यधिक खर्चिलो छ, भित्रभित्रै स्वार्थी योजना भरिएका छन् र यसले बजेट घाटा २५ खर्ब डलर पुग्ने बनाउँछ । अमेरिकी नागरिकहरूलाई यो असहनीय ऋणको बोझ हो ।’

हाल मस्क र ट्रम्पबीचको सम्बन्धमा आएको चिसोपन अमेरिकी राजनीतिक वृत्तमा निकै चर्चा भइरहेको छ । मस्कको आलोचनालाई कतिपयले ट्रम्पको नीति र बजेट दृष्टिकोणप्रति बढ्दो असन्तुष्टि भनेर व्याख्या गरेका छन् । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस