१२ देशका नागरिकमाथि अमेरिकी यात्रामा प्रतिबन्ध

अनलाइनसमय |
२२ जेठ २०८२
१२ देशका नागरिकमाथि अमेरिकी यात्रामा प्रतिबन्ध

काठमाडौं, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । बुधबार साँझ हस्ताक्षर गरिएको राष्ट्रपतिको नयाँ घोषणापत्र अनुसार यो निर्णय सुरक्षाको कारण देखाउँदै गरिएको हो ।

घोषणापत्रअनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने व्यक्तिहरूलाई पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई आंशिक रुपमा मात्र अमेरिका प्रवेश गर्न दिइनेछ ।

यात्रा प्रतिबन्धमा केही अपवादहरू पनि छन् – अमेरिकामा बसोबास अनुमति (ग्रीन कार्ड) भएका, वैध भिसा प्राप्त व्यक्ति, केही विशेष भिसा समूहमा पर्नेहरू र अमेरिकी राष्ट्रिय हितमा पर्ने व्यक्तिहरूलाई प्रतिबन्ध लागू नहुने जनाइएको छ ।

यो प्रतिबन्ध जुन ९ को राति १२ः०१ बजेदेखि लागू हुनेछ ।

राष्ट्रपति ट्रम्पले यो निर्णय कोलोराडोको बाउल्डरमा भएको यहूदी विरोधी आक्रमणपछि तीव्र रुपमा अघि बढाइएको बताइएको छ । उनले यो प्रस्ताव पहिले नै विचार गरिरहेका थिए तर उक्त आक्रमणपछि घोषणामा ढिलाइ नगरिएको हो ।

ह्वाइट हाउसले यो प्रतिबन्धलाई राष्ट्रपति ट्रम्पको चुनावी प्रतिबद्धता पुरा गर्ने कदमको रूपमा प्रस्तुत गर्दै अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने उद्देश्य रहेको बताएको छ ।

ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छन्, ‘यी देशविशेष प्रतिबन्धहरू ती देशहरूका नागरिकका लागि लागू छन् जसले आफ्नो नागरिकको पृष्ठभूमि परीक्षण राम्रोसँग गर्न सक्दैनन्, जहाँ भिसा अवधि सकिएपछि पनि अमेरिका नछाड्ने दर उच्च छ, वा जसले आवश्यक सुरक्षा जानकारी साझा गर्दैनन् ।’

राष्ट्रपति ट्रम्पले एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘यदि अन्य देशहरूमा पनि खतरा देखा पर्छ भने ती पनि प्रतिबन्ध सूचीमा थपिने छन्, हाम्रो देशलाई हानि पुर्याउन चाहने व्यक्तिहरूलाई अमेरिका प्रवेश गर्न दिइने छैन ।’

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि मुस्लिम बहुल सात देशका नागरिकमाथि अमेरिका यात्रा प्रतिबन्ध लगाएका थिए । सो निर्णय अदालतसम्म पनि पुगेको थियो । त्यसपछि पूर्व राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि उक्त प्रतिबन्ध खारेज गरेका थिए ।

यसपटक अफगानिस्तानलाई प्रतिबन्ध सूचीमा राखिएकोले विगतमा अमेरिकासँग काम गरेका अफगानी नागरिकहरूको भविष्य अन्योलमा परेको छ । सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस