बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्छ : अध्यक्ष ढकाल

अनलाइनसमय |
२२ जेठ २०८२
बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्छ : अध्यक्ष ढकाल

काठमाडौं, २२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् ।

काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे ।

बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको तर्क थियो ।

“व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् । ” ढकालले भने ।

उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताए ।

यस्तै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताए । मध्यपूर्वको उदाहरण दिंदै अध्यक्ष ढकालले भने, “यदी मध्यपूर्वका देशहरुलाई आफुसंग भएको पेट्रलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देशहरु आजको अवस्थामा रहने थिएनन् । तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजिकरण गर्नु पर्दछ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस