काठमाडौं, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच बिहीबार ९० मिनेट लामो टेलिफोन वार्ता भएको सीएनएनले जनाएको हो । लामो समयदेखि स्थगित वार्तापछि दुबै नेताबीच भएको यो कुराकानीलाई ट्रम्पले ‘धेरै राम्रो’ भएको बताएका छन् ।
वार्तापछि सामाजिक सञ्जालमार्फत ट्रम्पले दुबै पक्षबीचको व्यापार तनाव चाँडै समाधान हुने आशा व्यक्त गरेका छन् । ट्रम्पका अनुसार दुवै देशका आर्थिक टोलीबीच चाँडै थप छलफल गरिनेछ र दुबैले एकअर्कालाई भ्रमणका लागि आमन्त्रण समेत गरेका छन् ।
ट्रम्पले वार्तामा व्यापारसम्बन्धी विषयहरू मात्र केन्द्रमा रहेको र इरान वा युक्रेनजस्ता अन्य राजनीतिक विषयहरूमा छलफल नभएको बताएका छन् । उनले यो वार्ता ‘दुवै देशका लागि सकारात्मक निष्कर्षमा पुगेको’ दाबी गरेको सीएनएनले लेखेको छ ।
चीनको विदेश मन्त्रालयको विवरणअनुसार राष्ट्रपति सीले अमेरिका र चीनले ‘बराबरीको भावना’मा आपसी सम्मान र साझा हितको खोजी गर्नुपर्ने बताएका छन् । साथै अमेरिकाले चीनमाथि लगाइएको नकारात्मक प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन् ।