के हो सिंगल प्रिमियम जीवन बीमा ?, कसका लागि बढी उपयुक्त ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२३ जेठ २०८२
काठमाडौं, २३ जेठ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूद्वारा जारी बीमालेख संख्या १३ प्रतिशतले घटेको छ । गतवर्षको तुलनामा यस वर्ष सबैभन्दा धेरै घट्ने बीमालेखमा म्यादी जीवन बीमा रहेको छ भने धेरै बढ्नेमा एकल बीमाशुल्क जीवन बीमा रहेको छ, जुन् एक वर्षमा ४५ प्रतिशतले बढेको छ । यससँगै अघिल्लो वर्षको चैतसम्ममा १० हजार ९४० ओटा रहेको यस्तो बीमालेख बढेर गत चैतसम्ममा १५ हजार ८८५ पुगेको छ ।
जीवन बीमा भविष्यको सुरक्षा र बचत दुवैका लागि गरिन्छ । कुनै पनि व्यक्तिले जीवन बीमा गर्दा आफ्नो आवश्यकताको आधारमा निश्चित अवधिका लागि बीमा योजना छनोट गर्न सक्छन् । तीमध्ये एकल प्रिमियम जीवन बीमा एउटा यस्तो बीमा योजना हो, जहाँ बीमाकर्ताले एकपटकमा सम्पूर्ण प्रिमियम भुक्तानी गर्छन्, जसबाट उनीहरूले लामो अवधिसम्मका लागि सुरक्षा प्राप्त गर्छन् ।
समयमा बीमाशुल्क बुझाउन नसक्दा, व्यक्तिको आवश्यकता र बाध्यताले पछिल्लो समय बीमालेख त्याग हुने क्रम बढेको छ । तर एकल बीमाशुल्क बीमामा भने पहिले नै सबै बीमाशुल्क तिरिने भएकाले बीमालेख समर्पणको दर कम हुन्छ ।
जीवन बीमा गर्न चाहने व्यक्तिले एकल बीमाशुल्क भुक्तानी हुने जीवन बीमाका केही महत्वपूर्ण पक्षहरू बुझ्न आवश्यक छ । बीमालेखको प्रकृति, विशेषता, सुविधा र शर्तजस्ता जस्ता कुरा राम्ररी नबुझी बीमालेख छनोट गरेमा लक्षित उद्देश्य पूरा नहुन सक्छ । यसबारे बीमितलाई बुझाउनु बीमक र अभिकर्ताको पनि दायित्व हो ।
एकल बीमाशुल्क जस्ता बढी बीमाशुल्कको बीमालाई सम्पत्ति शुद्धीकरणका दृष्टिले तुलनात्मक रूपमा जोखिम हुने मानिन्छ । त्यसलाई दृष्टिगत गरी यस्तो बीमालाई नियामक र बीमकहरूले पनि विशेष निगरानीका साथै नियामकीय परिपालनामा जोड दिएका हुन्छन् ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमकहरूको बीमाशुल्क १५.३२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैतसम्ममा जीवन बीमकहरूको बीमाशुल्क १ खर्ब १० अर्ब १६ करोड रहेकोमा गत चैतसम्ममा १ खर्ब २७ अर्ब ३ करोड नाघेको छ । जीवन बीमाका १० प्रडक्टमध्ये एकल बीमाशुल्क बीमाको भने २१४ प्रतिशतले बढेको छ । यस्तो बीमाशुल्क अघिल्लो वर्षको चैसम्ममा १ अर्ब ५६ करोड रहेकोमा गत चैतसम्ममा ४ अर्ब ९१ करोड पुगेको छ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्ट :