काठमाडौं, २३ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १,००० कागतीका विरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।
त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो ।
बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३ हजार ७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक बन) लगायतका विभिन्न स्थानमा ५ हजार ५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २ हजार ३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २ हजार १००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १ हजार ५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २ हजार ८६ विरुवा रोपण सुरु गरेको छ ।
बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा स्थानीय महानुभावहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
बैंकले बृक्षारोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक बन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ । उक्त बृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।