काठमाडौं, २५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एञ्जलसमा जारी प्रदर्शन नियन्त्रण गर्न दुई हजार नेसनल गार्ड खटाउने निर्णय गरेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिपछि पनि ट्रम्पले लस एञ्जलसमा जारी प्रदर्शन नियन्त्रण गर्न सो सङ्ख्यामा गार्ड खटाउने निर्णय गरेका हुन् ।
शनिबार लस एञ्जलसको दक्षिणतर्फ रहेको प्यारामाउन्ट सहरको होम डिपो नजिकै संघीय अध्यागमन निकाय (इमिग्रेशन अथोरिटी) र प्रदर्शनकारीबीच दोस्रो दिनपनि झडप भएको थियो । तीव्र प्रदर्शनका बीच संघीय एजेन्टले अश्रुग्यास, तेज आवाज हुने ग्रिनेड (फ्ल्यास बाङ) र पेपर बल प्रहार गरे भने प्रदर्शनकारीले सीमाना सुरक्षाको गाडीमा ढुंगा र सिमेन्ट प्रहार गरे । सडकमा फोहोर जलाएर बालिएकाले धुवाँ फैलिएर तनावको वातावरण बन्यो ।
पछिल्लो केही दिनयता अध्यागमन अधिकारीहरूले एलए सहरको फेसन जिल्ला र होम डिपो जस्ता ठाउँमा गरिएका धरपकड अभियानपछि प्रदर्शन चर्किएको हो । गत एक हप्ता मात्र लस एञ्जलसमा १०० भन्दा बढी आप्रवासीहरू पक्राउ परेका छन् । प्रदर्शनमा सहभागी एक चर्चित मजदुर युनियन नेतासमेत पक्राउ परेका छन् ।
ह्वाइट हाउसले एक वक्तव्यमा ट्रम्पले ‘बढ्न दिइएको अराजकतालाई सम्बोधन गर्न’ गार्ड खटाउने निर्णय लिएको बताएको छ । यद्यपि ती गार्ड कहिले पुग्ने भन्ने समय भने खुलाइएको छैन ।
गभर्नर न्युसमले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पको निर्णय ‘जानाजान झनै तनाव बढाउने किसिमको’ भएको बताएका छन् । उनले संघीय सरकार ‘नाटक चाहिरहेको’ भन्दै जनतालाई हिंसात्मक प्रतिक्रिया नगर्न आग्रह गरेका छन् । एपीन्यूज