काठमाडौं, २५ जेठ । सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने बताएका छन् ।
आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।
घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए ।
उनले भने, ‘धेरैदिन भयो यसलाई लम्ब्याएर लान सकिन्न । कति दिन लम्ब्याउने ? आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ । आम जनतामा पनि राम्रो मेसेज दिइराखेको छैन । एकदमै निहुँ खोज्ने अर्गेल्याइँ गर्ने ढंगले अपोजिसनका कुरा आएका छन् । सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन । उहाँहरूले सहयोग गरे राम्रैसँग सुचारु हुन्छ । असहयोग गरेपनि व्यवधान त आउँछ तर संसद चल्छ ।’
त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए ।
‘प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । त्यो हामीले मान्दै आयौँ,’ बर्तौलाले भने, ‘आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन ।’ आजैबाट बजेटमाथि छलफल प्रारम्भ हुने पनि उनले बताए ।
अहिले थप रणनीतिका लागि विपक्षी दलको बैठक बसिरहेको छ ।
आजका लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ । तर, बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन् । निरन्तरको अवरोधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।