काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष (आव)को दश महिनामा कुल आन्तरिक कर्जा २ दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २ दशमलव ८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत माघ मसान्तमा यस्तो कर्जा ५ दशमलव ४ प्रतिशतले बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २४ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा आवको माघमा यस्तो दाबी १० दशमलव ५ प्रतिशतले घटेको छ ।
यसैगरी मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७ दशमलव ६ प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा यस्तो दाबी ५ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८ प्रतिशतले बढेको छ ।