काठमाडौं, २८ जेठ । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को दश महिनामा हायर पर्चेज कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा वैशाखसम्म आइपुग्दा बढेर १ खर्ब २९ अर्ब १७ करोड पुगेको छ ।
२०८२ को वैशाख मसान्तसम्म व्यावसायिक प्रयोजनमा ८६ अर्ब ८३ करोड रुपैयाँ हायर पर्चेज कर्जा रहेको छ, जुन चालू आवको पहिलो महिनाको तुलनामा शून्य दशमलव ५ प्रतिशत बढी हो । गत साउनमा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको थियो ।
सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने हायर पर्चेज कर्जा पनि १४ दशमलव ९ प्रतिशतले बढेको देखिन्छ । गत साउनमा ३६ अर्ब ८४ प्रवाह भएको कर्जा फागुनसम्ममा ४२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
बढ्दो हायर पर्चेज कर्जा र सवारीसाधनको आयातले अर्थतन्त्र चलायमान हुन थालेको संकेत गरेको छ ।