काठमाडौं, २८ जेठ । पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको छ । पछिल्लो एक वर्षमा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जा प्रवाह २० दशमलव ६१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा ७३ अर्ब ३४ करोड ८० रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा २० दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमूलक क्षेत्रमा ६० अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
गत असार मसान्त यता बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा प्रवाह गरेको कर्जा ९ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा यस्तो कर्जा ८ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ थियो । हाल यो कर्जा ८ खर्ब ९२ अर्ब ५८ करोड कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कर्जा उद्यमीहरुले नयाँ उद्योगकै लागि मात्र लिएका भने हुँदैनन्, सञ्चालन भइरहेका उद्योगमा थप लगानी विस्तार गर्न तथा आवश्यक उपकरणहरू खरिद गर्न बैंकबाट कर्जा लिएका हुन्छन् ।
यसैगरी चालू आवको वैशाखसम्ममा उत्पादनमुलक क्षेत्रमध्ये खाद्य उत्पादनतर्फ बैंक तथा वित्त संस्थाले प्रवाह गरेको कर्जा १०७ दशमलव ३७ प्रतिशतले बढेको छ । गत वर्षको वैशाखसम्ममा खाद्य वस्तु उत्पादन गर्ने उद्योगमा लगानी गर्न उद्यमीले १५ अर्ब ९६ करोड मात्र कर्जा लिएकोमा चालू आवको यसै अवधिमा ३३ अर्ब १० करोड रुपैयाँ बराबरको कर्जा लिइसकेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यो कर्जा बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमुलक क्षेत्रमा गएको कर्जामध्ये सबैभन्दा धेरै हो
कुन क्षेत्रमा कति गयो कर्जा (रू. करोडमा)

स्रोत: नेपाल राष्ट्र बैंक