काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।
उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।
उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
उक्त प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी÷गराई काठमाडौँ महानगरपालिका÷सार्वजनिक संस्थाको सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरे÷गराएको तथ्य स्थापित भएको अख्तियार बताएको छ ।