काठमाडौं, २९ जेठ । इरानसँग बढ्दो तनावका कारण अमेरिकाले मध्यपूर्वका विभिन्न स्थानबाट आफ्ना केही गैर–आवश्यक कूटनीतिक कर्मचारीहरू तथा सैनिक परिवारलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको छ ।
अमेरिकी सरकारका अधिकारीहरू तथा विषयसँग परिचित स्रोतहरूका अनुसार अमेरिकाको विदेश मन्त्रालय र रक्षा मन्त्रालयले पछिल्लो दिनहरूमा सम्भावित सुरक्षा चुनौतीका कारण यस्तो निर्णय लिएको हो । ‘मध्यपूर्वमा विकसित हुँदै गएको तनाव’लाई निगरानीमा राखेको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको भनाइलाई उद्धत गर्दै सीएनएनले जनाएको छ ।
‘उनीहरूलाई त्यहाँबाट निकालिँदैछ किनकि त्यो स्थान खतरनाक हुन सक्ने देखिएको छ, अब के हुन्छ, हेर्ने बाँकी छ, तर हामीले उनीहरूलाई हटाउन सूचित गरिसकेका छौँ,’ बुधबार एक कार्यक्रमको क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ।
हालसालै इरान र इजरायलबीचको तनाव चर्कँदै गएको सन्दर्भमा अमेरिका इरानसँग नयाँ आणविक सम्झौता गर्न खोजिरहेको अवस्थामा यो कदम चालिएको हो । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मध्यपूर्वका विभिन्न स्थानहरूबाट अमेरिकी सैनिक परिवारहरूलाई स्वेच्छिक रूपमा फिर्ता जान अनुमति दिएको जनाइएको छ ।
‘हाम्रो सेवामा खटिएका सैनिक र उनीहरूको परिवारको सुरक्षा हाम्रो सबैभन्दा उच्च प्राथमिकता हो। सेन्ट्रल कमाण्डले क्षेत्रको परिस्थितिको सतर्क निगरानी गरिरहेको छ,’ एक अधिकारीले भने । यसैबीच सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कुरिल्लाले बिहीबार सेनेट समिति समक्ष दिनुपर्ने भनिएको बयान स्थगित गरेका छन् ।
विदेश मन्त्रालयले इराक, बहराइन तथा कुवेतस्थित अमेरिकी दूतावासहरूबाट पनि गैर–आवश्यक कर्मचारीहरू फिर्ता बोलाउने तयारी गरेको छ । साथै इराकी कुर्दिस्तानस्थित अर्बिलको अमेरिकी वाणिज्यदूतावासका कर्मचारीहरूलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको छ ।
इराकी सरकारका एक अधिकारीका अनुसार ती कर्मचारीहरूलाई फिर्ता बोलाउने निर्णय इराक भित्रको सुरक्षासँग सम्बन्धित छैन ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘राष्ट्रपति ट्रम्प देशभित्र एण्ड विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षाका लागि प्रतिबद्ध हुनुहुन्छ, सोही प्रतिबद्धता अनुसार हामी हाम्रा प्रत्येक दूतावासको मानवसंसाधन व्यवस्था निरन्तर पुनर्मूल्यांकन गर्दै आएका छौँ, पछिल्लो मूल्यांकनअनुसार, हामीले इराकस्थित हाम्रो मिशनको कर्मचारी संख्या घटाउने निर्णय गरेका छौँ ।’
बुधबार राति मन्त्रालयले आफ्नो यात्रा सल्लाह अद्यावधिक गर्दै, ‘क्षेत्रीय तनाव बढेका कारण’ गैर–आपतकालीन अमेरिकी सरकारी कर्मचारीहरूको प्रस्थान आदेश जारी गरिएको जानकारी दिएको छ ।
राष्ट्रपति ट्रम्पले एक अन्तर्वार्तामा इरानसँग सम्झौता सम्भावनाप्रति आफू पहिलेभन्दा कम आशावादी भएको बताएका छन् । ‘म अब पहिलेभन्दा धेरै कम आशावादी छु । उनीहरू सम्झौता टार्न खोजिरहेका छन् जस्तो लाग्छ,’ ट्रम्पले न्यूयोर्क पोस्टको पोडकास्टमा भनेका छन्, ‘केही भएको छ जस्तो लाग्छ, तर मलाई अब सम्झौता सम्भव नहुनेतर्फ जान लागेको अनुभूति हुँदैछ ।’