काठमाडौं, ३० जेठ । भारतको अहमदाबादस्थित विमानस्थलबाट उडान भर्ने क्रममा एयर इण्डियाको यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तीमा २९० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार लण्डनतर्फ गइरहेको उक्त विमान डाक्टरहरू बस्ने होस्टलमा खस्दा विमानमा रहेका यात्रुसहित जमिनमा रहेका सर्वसाधारणको पनि ज्यान गएको हो ।
एयर इण्डियाले दिएको जानकारी अनुसार विमानमा २४२ जना सवार थिए, जसमध्ये २४१ जनाको मृत्यु भएको छ । एक जना बेलायती नागरिक मात्र दुर्घटनाबाट जीवित बाँचेका छन् ।
दुर्घटनामा होस्टलमा बस्ने थुप्रै डाक्टर र स्वास्थ्यकर्मी पनि मारिएका छन् । घटनास्थलको तस्बिरहरूमा भवनको बाहिर विमानको पुच्छर देखिएको छ ।
दुर्घटनाग्रस्त विमान बोइङ कम्पनीको ७८७–८ ड्रीमलाइनर मोडेल रहेको फ्लाइट ट्र्याकिङ वेबसाइट ‘फ्लाइटरडार२४’ले जनाएको छ । बोइङ कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान र राहत कार्यमा सहयोग गर्न तयार रहेको जानकारी दिएको छ ।
एयर इण्डिया विगतमा पनि केही ठूला दुर्घटनामा परेको इतिहास रहेको छ । दुर्घटनापछि उद्धार तथा राहत कार्य तीव्र गतिमा अघि बढाइएको छ । घटनाको विस्तृत छानबिन जारी रहेको अधिकारीहरूले बताएका छन् ।