काठमाडौं, ३१ जेठ । चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा घटेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको दश महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा १ दशमलव ६७ प्रतिशत घटेकोे हो । चालू आवको वैशाखसम्ममा बैंकको खुद नाफा ४७ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा वाणिज्य बैंकहरूले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
गत वैशाखसम्ममा धेरै खुद नाफा गर्ने नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा २ दशमलव ५८ प्रतिशत बढी हो । यस बैंकले गत वर्षको वैशाखसम्ममा ५ अर्ब ४६ करोड खुद नाफा गरेको थियो ।
दोस्रो धेरै खुद नाफा गर्ने ग्लोबल आईएमई बैंक रहेको छ । गत वैशाखसम्ममा यस बैंकले ५ अर्ब ३५ करोड रूपैयाँ खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा २९ दशमल ८९ प्रतिशत बढी हो । बैंकले गत आवको दश महिनामा ४ अर्ब १२ करोड खुद नाफा गरेको थियो ।
यस्तै चालू आवको दश महिनामा तेस्रो धेरै खुद नाफा गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ५ अर्ब २ करोड रूपैयाँ खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ३३ दशमल १४ प्रतिशत बढी हो । बैंकले गत आवको वैशाखसम्ममा ३ अर्ब ७७ करोड खुद नाफा गरेको थियो । यसपछि एभरेष्ट, नेपाल बैंक र एन एम बि बैंक क्रमशः अगाडि रहेका छन् ।
राष्ट्र बैंकको तथ्याङ्क हेर्दा गत आवको दश महिनाको तुलनामा चालू आवको सोही अवधिमा १० ओटा वाणिज्य बैंकको खुद नाफा बढेको छ भने १० ओटैमा ह्रास (कम नाफा) आएको छ । सो अवधिमा सबै भन्दा कम खुद नाफा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले गत आवको वैशाखसम्ममा २ अर्ब १६ करोड खुद नाफा गरेको थियो भने चालू आवको सोही अवधिमा ४७ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै कुमारी ४८ करोड, हिमालयन ६८ करोड र सिटिजन्स १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ ।

स्रोत : नेपाल राष्ट्र बैंक