एक वर्षमै थपिए साढे ३४ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

अनलाइनसमय |
३१ जेठ २०८२
एक वर्षमै थपिए साढे ३४ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं, ३१ जेठ । पछिल्लो समय भइरहेको प्रविधिको विकास र विस्तारको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा परेको छ । डिजिटल प्रविधिको विकास, स्मार्टफोनको पहुँचमा वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमैत्री सेवा सुविधामा जोड दिएका छन्, जसमध्ये एक हो मोबाइल बैंकिङ ।

पछिल्लो एक वर्षमै साढे ३४ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंककको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को वैशाखसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७२ लाख ६३ हजार पुगेका छन् । गत आवको सोही अवधिमा यस्ता प्रयोगकर्ता २ १ करोड ३७ लाख ७९ हजार मात्रै थिए । अर्थात् एक वर्ष अवधिमै मोबाइल बैंकिङ प्रयोगकर्ता ३४ लाख ६५ हजार ७ सयभन्दा बढी प्रयोगकर्ता थपिएका छन् ।

यस्तै चालू आवको १० महिनामा इन्टरनेट बैंकिङ सेवा २४ लाख २३ हजारभन्दा धेरै प्रयोगकर्तामा पुगिसकेको छ, जुन गत आवको वैशाखसम्मको तुलनामा २४ दशमलव ९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १९ लाख ३८ हजार प्रयोगकर्तामा इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो । अर्थात् एक वर्षमा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता ४ लाख ८४ हजार थपिएका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखसम्ममा डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ३५ लाख ३१ हजार रहेका छन् । गत आवको सोही अवधिमा यस्तो प्रयोगकर्ताको सङ्ख्या १ करोड २७ लाख ८९ हजार थियो ।

चालू आवको वैशाखसम्ममा क्रेडिट कार्ड र प्रिपेइड कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख ६ हजार ७९३ र २ लाख ४० हजार ५४ रहेको छ । आव २०८०/८१ मा यस्ता प्रयोगकर्ताको सङ्ख्या क्रमशः २ लाख ८६ हजार २५३ र १ लाख ६९ हजार ७८५ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखसम्ममा ५४ वटा बैंकिङ संस्था छन् । यी संस्थाका ६ हजार ५०७ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ९० लाख २८ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस