इजरायली आक्रमणले इरानका प्रमुख परमाणु केन्द्रहरूमा क्षति

अनलाइनसमय |
१ असार २०८२
इजरायली आक्रमणले इरानका प्रमुख परमाणु केन्द्रहरूमा क्षति

काठमाडौं, १ असार । इरानका प्रमुख परमाणु केन्द्रहरूमा इजरायली आक्रमणबाट व्यापक क्षति भएको खुलासा हालै सार्वजनिक गरिएको उपग्रह तस्वीरबाटभएको छ । ती तस्वीरहरूले नताञ्ज र इस्फाहानस्थित परमाणु स्थलहरूमा इजरायली आक्रमणले पुर्‍याएको क्षति स्पष्ट देखिएको बीबीसीले जनाएको हो ।

दुई अलग उपग्रह सेवा प्रदायकबाट प्राप्त तस्वीर अनुसार शुक्रबारको पहिलो चरणको आक्रमणमा नताञ्जको पाइलट फ्युल एनरिचमेन्ट प्लान्ट (यूरेनियम प्रशोधन केन्द्र) र त्यहाँको एक विद्युत सबस्टेशनमा गम्भीर क्षति पुगेको छ । यसबाहेक तबरिज शहरको दक्षिणतर्फ रहेको एउटा मिसाइल स्थलमा पनि ठुलो क्षति भएको पुष्टि गरिएको छ ।

अन्तर्राष्ट्रिय स्पेस एण्ड सेक्युरिटी इन्स्टिच्युटको विश्लेषण अनुसार नताञ्ज केन्द्रको माथिल्लो सतहमा विस्फोटले ठुलो क्षति पुर्‍याएको छ । उपग्रहबाट खिचिएको दृश्यमा केन्द्रका केही भवनहरू पूर्णरूपमा ध्वस्त भएको देखिन्छ ।

यसअघि रडार इमेजबाट गरिएको प्रारम्भिक अध्ययनले पनि त्यहाँ क्षति भएको संकेत दिएको थियो । पछिल्लो खुलासा भने अप्टिकल (दृश्य) तस्वीरमार्फत गरिएको हो ।

शुक्रबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई जानकारी दिँदै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीले भनेका थिए, ‘नताञ्जस्थित पाइलट प्लान्टको सतह भाग, जहाँ इरानले ६० प्रतिशत युरेनियम–२३५ प्रशोधन गर्दै आएको थियो, पूर्ण रूपमा ध्वस्त भएको छ ।’

इजरायलले गरेको यो आक्रमणका क्रममा केही अन्य मिसाइल बेसहरूमा पनि क्षति पुगेको पुष्टि उपग्रह तस्वीरमा देखिएको छ । इजरायली सेनाले आक्रमण ‘खास खुफिया जानकारीमा आधारित’ रहेको बताएको छ ।

ब्रिटेनस्थित रॉयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका विश्लेषक जस्टिन ब्रोनकका अनुसार आक्रमणको स्वरूप हेर्दा भूमिगत संरचनामा घुस्ने जीबीयू–३१(भि)३ वा अझ विशेष गहिरो भित्र पसी हमला गर्न सक्ने जीबी–२८ जस्ता बम प्रयोग भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस