११ महिनामा साढे ६२ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

अनलाइनसमय |
२ असार २०८२
११ महिनामा साढे ६२ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं, २ असार । पछिल्लो ११ महिनामा विदेशी लगानीकर्ताले साढे ६२ अर्बभन्दा बढी लगानी (एफडीआई) प्रतिबद्धता जनाएका छन् ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को जेठसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा ७४९ उद्योगका लागि ६२ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ०२ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा यस्तो प्रतिबद्धता ५९ अर्ब ५८ करोड २१ लाख रुपैयाँ आएको थियो ।

चालू आवको जेठसम्ममा स्वचालित मार्ग (अटोमेटिक रूट) भन्दा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रका ३७४ उद्योग स्थापना गर्न अप्रुभल रूटबाट ५६ अर्ब ७४ करोड २४ लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै अटोमेटिक रूटबाट ३७० उद्योगका लागि ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ र शेयर खरिदबाट ३२ उद्योगमा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार जेठमा मात्रै १४१ उद्योगका लागि ३ अर्ब ५६ करोड १७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । एक महिनामा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट ८८ उद्योगमा ५० करोड १७ लाख ७० हजार रुपैयाँ र अप्रुभल रूटबाट ५३ उद्योगमा ३ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यसैगरी चालू आवको ११ महिनामा ७०२ वटा साना उद्योग, ९ वटा मध्यम (मझौला) र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा १७ हजार २५५ जनाले रोजगारी पाउनेछन् ।

सुरुदेखि चालू आवको जेठसम्ममा विदेशी लगानीकर्ताले ७ हजार ११६ उद्योगका लागि ५ खर्ब ९० अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ४५ हजार १६५ जनाले रोजगारी पाउनेछन् ।

कुन क्षेत्रमा कति ?

विभागका अनुसार ११ महिनामा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । जेठसम्ममा अटोमेटिक रूटबाट आएको कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख प्राप्त भएको छ । यो क्षेत्रका ७६ वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो ।

त्यस्तै पर्यटन क्षेत्रमा २३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका २६६ उद्योग स्थापना हुने छन् । जेठसम्ममा आईसीटी क्षेत्रमा ३१३ उद्योगका लागि १ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग स्थापनाको हिसासबले यो क्षेत्रमा आएको लगानी सबैभन्दा धेरै हो ।

नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालू आवको ११ महिनामा ९ अर्ब ६० करोड ८ लाख ३२ हजार रुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । गत आवको सोही अवधिमा ९ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो ।

विभागका अनुसार चालू आवको जेठसम्ममा विदेशी लगानीकर्ताले रोयल्टीमार्फत १ अर्ब ६८ करोड १४ हजार रुपैयाँ बराबर फिर्ता लैजान अनुमति दिइएको छ । गत आवको सोही अवधिमा २ अर्ब ५४ करोड ३४ रुपैयाँ बराबरको रकम रोयल्टीबापत फिर्ता लैजान स्वीकृति दिइएको थियो ।

चालु आवको जेठमा मात्र लाभांशबापत ८ करोड ७८ लाख २ हजार रुपैयाँ र रोयल्टीबापत १६ करोड १४ लाख ९५ हजार रुपैयाँ फिर्ता लैजान स्वीकृत गरिएको विभागका तथ्याङ्कमा उल्लेख छ ।

२ हजार बढीले लिए बिजनेस भिसा

यो वर्ष गत वर्षको हाराहारीमै बिजनेस भिसा लिएका छन् । विभागका अनुसार ११ महिनामा २ हजार ५६६ लगानीकर्ताले यस्तो भिसा लिएका छन् । गत आवको सोही अवधिमा २ हजार ८५ जनाले बिजनेस भिसा लिएका थिए । चालू आवको जेठमा मात्रै २७० लगानीकर्ताले यस्तो भिसा लिएका छन् ।

साउनदेखि जेठसम्ममा विदेशी लगाीकर्ताका प्रतिनिधिमार्फत ३७२ जनाले बिजनेस भिसा लिएका छन् । गत आवको चैतसम्ममा यस्तो भिसा ३६६ जनाले लिएका थिए । ११ महिनामा ८६६ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् । गत आवको सोही अवधिमा यस्तो भिसा ९३७ जनाले लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस