जेठमा घरजग्गा कारोबार चालू आवकै उच्च, पौने ५ अर्ब राजस्व संकलन

अनलाइनसमय |
२ असार २०८२
जेठमा घरजग्गा कारोबार चालू आवकै उच्च, पौने ५ अर्ब राजस्व संकलन

काठमाडौं, २ असार । जेठमा यस वर्षर्क उच्च घरजग्गा कारोबार भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को जेठमा देशभरका मालपोत कार्यालयबाट ५६ हजार १० घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागको तथ्याङ्कले देखाएको छ । यो कारोबार यस वर्षकै सबैभन्दा धेरै हो ।

साउनदेखि माघसम्म घरजग्गा कारोबारमा उत्तरचढाब थियो । यी महिनामा अपेक्षा अनुसार घरजग्गाको किनबेच हुन सकेको थिएन । चैत यता भने घरजग्गा कारोबारमा केही सुधारको संकेत देखिएको छ । गत फागुनसम्ममा ४६ हजारमा सीमित घरजग्गा कारोबार चैतमा बढेर उच्च रेकर्ड राख्दै करिब ५० हजार घरजग्गा कारोबार भएको थियो । त्यस यता लगातार उच्च रेकर्ड तोड्दै गएको छ । गत वैशाखमा यस्तो क्षेत्रको कारोबार बढेर ५२ हजार ४२३ घरजग्गा किनबेच भएको थियो ।

जेठमा सुनसरीको इनरूवा मालपोतले सबैभन्दा बढी घरजग्गाको कारोबार गरेको छ । त्यहाँबाट २ हजार १५८ घरजग्गा लिखत पारित भएको छ । सुनसरीपछि धनुसाको जनकपुरधाम मालपोत कार्यालयबाट १ हजार ९७८ र झापाको भद्रपुर मालपोतबाट १ हजार ७४० वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै त्यस्तै बेलवारी मोरङबाट १ हजार ७३२, सप्तरीको राजविराज मालपोतबाट १ हजार ६५९, सिराहा मालपोत कार्यालयबाट १ हजार ३३८ र सर्लाही मालपोत कार्यालयबाट १ हजार २५४ घरजग्गाको कारोबार भएको छ ।

काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुर मालपोतले गरेको देखिन्छ । यस कार्यालयले जेठमा १ हजार ९८ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले ९१९, कलङ्की मालपोतले ८१६, चाबहिल मालपोतले ५०८ र साँखु मालपोत कार्यालयले ४८४ वटा घरजग्गाको कारोबार गरेको छ ।

पौने पाँच अर्ब राजस्व संकलन

घरजग्गा कारोबार बढेसँगै राजस्व संकलनमा पनि केही सुधार देखिएको छ । विभागका अनुसार जेठमा घरजग्गा कारोबार बाट ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । घरजग्गा कारोबारबाट भएको यो आम्दानी यस वर्षकै उच्च हो । सरकारले गत वैशाखमा घरजगा कारोबार बाट ४ अर्ब ५४ करोड राजस्व संकलन गरेको थियो भने चैतमा ४ अर्ब ३९ करोड आम्दानी उठाएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट आम्दानी प्राप्त हुन्छ ।

जेठमा सेवा करबाट ३३ करोड ३१ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ५२ करोड ५६ लाख र पुँजीगत लाभकरबाट १ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चालू आवको ११ महिनामा सरकाले घरजग्गा कारोबारबाट मात्रै ४२ अर्ब ५७ करोड रुपैयाँ आम्दानी प्राप्त गरेको छ । सो अवधिमा कुल ४ लाख ७४ हजार १०४ घरजग्गाको किनबेच भइसकेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

१० महिनामा भएको घरजग्गा कारोबार र यसबाट प्राप्त आम्दानी

स्रोत : भूमि व्यवस्थापन तथा अभिलेख विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस