काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँगको भन्सार सम्झौताका केही प्रावधान कार्यान्वयन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशअनुसार बेलायतबाट अमेरिका पठाइने गाडीमा लाग्दै आएको २५ प्रतिशत भन्सार घटाएर १० प्रतिशतमा सीमित गरिएको हो ।
गत महिनामै प्रारम्भिक सहमति भएको उक्त सम्झौतालाई औपचारिक रूप दिन ट्रम्पले सोमबार आदेशमा हस्ताक्षर गरेका हुन् । आदेशमा १ लाखवटा बेलायती गाडी वार्षिक रूपमा अमेरिका निर्यात गर्न सकिने उल्लेख गरिएको बीबीसीले जनाएको छ ।
क्यानडामा जारी जी–७ शिखर सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री सर केयर स्टारमरले यो दिनलाई बेलायत र अमेरिकाका लागि महत्वपूर्ण उपलब्धि भनेका छन् ।
बेलायत र अमेरिकाबीच पछिल्ला केही सातादेखि चलेको वार्ताको निष्कर्षस्वरूप यो सम्झौता कार्यान्वयनमा ल्याइएको हो । बेलायती सरकारले यसलाई आफ्नो निर्यात उद्योग, विशेषगरी अटोमोबाइल क्षेत्रमा राहतको रूपमा लिएको छ ।
तर स्टील र एलुमिनियममा पनि कोटा प्रणाली लागू गर्ने भनिएपनि स्पष्ट कार्यविधि घोषणा गरिएको छैन । ‘त्यसको जानकारी केही दिनमै दिनेछौं,’ पत्रकारसँगको संवादमा ट्रम्पले भने ।
बेलायती सरकारले भने स्टीलमा शून्य प्रतिशत भन्सार कायम गर्न कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।
यसैबीच सम्झौताअनुसार केही एयरोस्पेस उपकरणमा लाग्दै आएको भन्सार शुल्क हटाइनेछ ।