रूसी हमलामा किभमा कम्तीमा १४ जनाको मृत्यु, दर्जनौं घाइते

अनलाइनसमय |
३ असार २०८२
रूसी हमलामा किभमा कम्तीमा १४ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, ३ असार । युक्रेनको राजधानी किभमा सोमबार राति भएको रूसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन् । युक्रेनी अधिकारीहरूले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला तीन वर्षयताकै राजधानीमाथिको सबैभन्दा ठूलो हमलामध्ये एक हो ।

गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार रातभरि चलेको रूसी हवाई आक्रमणमा ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरेका थिए । उक्त आक्रमण किभमा मात्र ९ घण्टासम्म लगातार जारी रह्यो ।

अधिकारीहरूका अनुसार किभका २७ ओटा जिल्लामा हमला भएको थियो । तीमध्ये एक क्षेत्रमा रहेको नौ तले आवासीय भवनमा ब्यालिस्टिक मिसाइल प्रहार हुँदा ठूलो क्षति पुगेको छ ।

किभमा मध्यरातअघि नै साइरन बज्न थालेको थियो । स्थानीय बासिन्दा भूमिगत शरणस्थलमा लुकेका थिए । बिहान सूर्योदयपछि मात्रै स्थिति केही सामान्य भएको बीबीसीले जनाएको छ ।

उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन् । आकाशमा उडिरहेका ड्रोन खसाल्न युक्रेनी वायु सुरक्षा टोलीले मेशिनगन प्रयोग गरेका थिए । बिहान पुनः साइरन बजेपछि उद्धार कार्य केही समय अवरुद्ध भएको थियो ।

रूसको दाबी : युक्रेनी ड्रोन नष्ट
मस्कोस्थित रूसी रक्षा मन्त्रालयले भने युक्रेनबाट प्रहार गरिएका १४७ ड्रोनहरू रातभरमा नै रोकिएको दाबी गरेको छ ।

विशेषज्ञहरूका अनुसार रूसले हालसालै युक्रेनी शहरहरूमा बारम्बार ड्रोन र मिसाइल आक्रमण गर्दै युक्रेनको वायु सुरक्षा प्रणालीलाई दबाबमा पार्ने रणनीति अपनाउँदै आएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस आक्रमणलाई शुद्ध आतंकवाद भनेका छन् । ‘पुटिनले युद्ध जारी राख्न सक्छन् भन्ने अनुभूति भएकैले यस्तो हमला भइरहेछ,’ उनले भने, ‘शान्तिपूर्ण नागरिकले होइन, आतंककारीले पीडा भोग्नुपर्छ ।’

यसैबीच किभसँगै दक्षिणी सहर ओडेसामा पनि ड्रोन आक्रमण भएको गृहमन्त्री क्लाइमेन्कोको भनाइलाई उद्वत गर्दै बीबीसीले लेखेको छ । सो आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस