काठमाडौं, ३ असार । इजरायल र इरानबीचको चर्किदो तनावका बीच गाजामा भोक, विस्फोट र बेवास्ताको त्रासदी झनै बढ्दै गएको छ । हालै गाजाको दक्षिणी क्षेत्रमा अवस्थित मावासी शरणार्थी शिविरमा एउटी सानी बालिका बिसान क्वाइदर आफ्ना दिवंगत बुबाको जुत्ता अँगाल्दै चिच्याएर रोइरहेकी तस्वीरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा भावुकता र आक्रोश फैलाएको हो ।
बिसानका बुबा शदी क्वाइदर खाना खोज्न गएका बेला इजरायली हवाई आक्रमणमा मारिएको सीएनएनले जनाएको छ । उनी आफ्ना ११ जना भोकाएका छोराछोरीका लागि केही अन्नको जोहो गर्न मावासीबाट खानी युनिसको पूर्वी क्षेत्र माआनतर्फ लागेका थिए, जुन इजरायली सेनाले ‘खतरापूर्ण युद्ध क्षेत्र’ घोषणा गरिसकेको स्थान हो ।
संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनअनुसार गाजाका करिब ५ लाखभन्दा बढी नागरिक चरम खाद्य अभावको अवस्थामा छन् । अप्रिल महिनामा सार्वजनिक रिपोर्टले पाँचमध्ये एक व्यक्ति भोकमरीको सिकार भइसरहेको छ ।

प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा गाजा मानवीय फाउन्डेसनले डेलिभर गरेको खाना र मानवीय सहायता प्याकेजहरू भएका बक्स र झोलाहरू बोकेर हिँढिरहेका । तस्बिर : अब्देल करीम
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा खाना र सहयोग खोज्न निस्केका सयौं नागरिक इजरायली हमलामा मारिएका छन् ।‘शदीको शव आइतबार भग्नावशेषबाट निकालियो, उनीजस्तै अरू धेरै नागरिक भोककै कारण ज्यान जोखिममा राखेर निस्किरहेका छन्,’ फोटोजर्नालिस्ट खालेद शाथको भनाइलाई उद्वत गर्दै सीएनएनले लेखेको छ ।
इजरायलले ११ हप्ताको पूर्ण नाकाबन्दीपछि मे महिनाको अन्त्यतिर केही राहत दिए पनि अन्तर्राष्ट्रिय सहायता निकायहरूले हाल गाजामा प्रवेश गर्ने सहयोग अत्यन्तै न्यून रहेको बताएका छन् । ‘यदि तत्काल र ठूला मात्रामा जीवन रक्षाका साधनहरू नपु¥याइयो भने गाजा पूर्ण दुर्भिक्षमा फस्नेछ,’ यूएनका मानवीय सहायता प्रमुख टम फ्लेचरले चेतावनी दिए ।
बेलायतले इजरायलसँगको व्यापार वार्ता रोकिदिएको छ भने युरोपियन युनियनले आपसी सहयोग सम्झौता पुनरावलोकन गर्ने जनाएको छ ।

गाजा पट्टीको देइर अल–बलहमा रहेको खाना वितरण भान्सामा प्यालेस्टिनी महिलाहरू । तस्बिर : अब्देल करीम हाना
यता इजरायल–इरान युद्धको चर्कदो तनावले गाजाको संकट अन्तर्राष्ट्रिय समाचारको प्राथमिकता सूचिबाट हराउँदै गएको गाजाका नागरिकहरू बताउँछन् । ‘विश्वले हामीलाई पूरै बिर्सेको छ,’ गाजाका मोहम्मद नाम गरेका एक बासिन्दाले भने, ‘हामी भोकै मर्छौं, तर कसैले हेर्दैन ।’
त्यस्तै उम्म मुस्तफाले भनिन्, ‘इजरायल–इरान युद्धपछि सारा ध्यान उतैतिर गएको छ, यहाँ त गाजालाई नक्साबाटै हटाइएको जस्तो लाग्छ ।’
अबु जुमाले भने, ‘अझै केही आवाजहरू गाजालाई राहत पुर्याउन बोलिरहेका छन्, तर इरान–इजरायल युद्ध सुरु भएपछि ती आवाजहरू पनि हराउँदै छन् ।’
गाजामा अहिले भोक, युद्ध र बेवास्ताको त्रासदी एकैसाथ फैलिएको छ ।