काठमाडौं, ४ असार । संयुक्त राज्य अमेरिकाका लागि पूर्व इजरायली राजदूत माइकल ओरेनले इरानले अमेरिकामाथि आक्रमण गरेर युद्धमा तान्न सक्ने आशंका व्यक्त गरेका छन् । इरानले अमेरिकी जहाज वा सैन्य बेसमा आक्रमण गरेर अमेरिकालाई मध्यपूर्वको युद्धमा तान्न सक्ने आशंका गरेका हुन् ।
‘इरानले पहिले आक्रमण गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफ्नै प्रशासनभित्र दबाब बढाउन सक्छ, त्यसपछि ट्रम्पले इजरायलमाथि युद्ध रोक्न दवाब दिन सक्छन्,’ ब्रिटेनको रेडियो ४ सँगको अन्तर्वार्तामा ओरेनले भने, ‘इरानीहरू यस्तै सोच्न सक्छ, यही कुरा मलाई चिन्ताको विषय बनेको छ ।’
पूर्व राजदूत ओरेनले इजरायलले अहिले आक्रमण जारी राख्नुपर्ने बताउँदै तत्काल युद्धविरामको प्रस्ताव अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेको बीबीसीले जनाएको छ । केही अमेरिकी नेताहरूले युद्ध रोक्नुपर्ने धारणा राखे पनि अहिले त्यो उपयुक्त समय नभएको ओरेनको भनाइ छ ।
‘किन हामीलाई रोक्न चाहन्छ ? किन कोही इरानलाई कमजोर भएको हेर्न चाहँदैन ?’ ओरेनले प्रश्न गरे ।
उनका यस्ता अभिव्यक्तिहरूले इजरायल–इरान तनावले अमेरिकी भूमिकालाई झन् पेचिलो बनाउने संकेत गरेको छ ।