काठमाडौं, ४ असार । इजरायली लडाकु विमानहरूले मंगलबार रातिदेखि बुधबार बिहानसम्म इरानको राजधानी तेहरान र वरपरका क्षेत्रमा हवाई आक्रमण गरेका छन् । इरानले जवाफी रूपमा केही मिसाइल प्रहार गरे पनि मानवीय क्षति नभएको जनाइएको छ ।
यता अमेरिकाले यो आक्रमणमा हस्तक्षेप गरे ‘पूर्ण क्षेत्रीय युद्ध’मा परिणत हुने इरानले चेतावनी दिएको एपीन्युजले जनाएको छ । ‘यदि अमेरिकाले हस्तक्षेप ग¥यो भने त्यो सम्पूर्ण क्षेत्रलाई विनाशतर्फ लैजाने नुस्खा हुनेछ ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अल जजिरासँगको अन्तर्वार्तामा भने । उनका अनुसार हजारौं अमेरिकी सेना इरानको हतियारको दायरा भित्र नजिकैका देशहरूमा अवस्थित छन् । अमेरिकाले यसअघि इरानको आक्रमणमा कठोर प्रतिक्रिया दिने चेतावनी दिइसकेको छ ।
यसैबीच इरानी एक वरिष्ठ अधिकारीले देशले आफ्नो विवादास्पद आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि निरन्तरता दिने बताएका छन् ।
इजरायली सेनाले पछिल्लो आक्रमणमा युरेनियम सेन्ट्रीफ्युज निर्माण केन्द्र र क्षेप्यास्त्र उत्पादन इकाईहरूलाई निशाना बनाएको जनाइएको छ । सेनाले इरानी आकाशबाट प्रक्षेपित १० मिसाइल पनि अवरोध गरेको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघीय आणविक निरीक्षण निकायले पनि तेहरान र वरपरका दुई सेन्ट्रीफ्युज उत्पादन केन्द्रमा क्षति पुगेको पुष्टि गरेको छ ।
पछिल्ला आक्रमणमा इजरायलले इरानका परमाणु तथा सैन्य स्थलगत स्थानहरूमा आक्रमण गरी उच्चपदस्थ जनरल तथा वैज्ञानिकहरूको ज्यान लिएको एपीन्युजले पुष्टि गरेको छ । वाशिङटनस्थित एक इरानी मानवअधिकार समूहका अनुसार हालसम्म ५८५ जनाको मृत्यु भएको छ, जसमध्ये २३९ जना सर्वसाधारण हुन् । घाइतेको संख्या १ हजार ३०० भन्दा बढी छ ।
इरानले अहिलेसम्म ४०० भन्दा बढी मिसाइल र सयौं ड्रोन प्रयोग गरेर इजरायलमा जवाफी आक्रमण गरिसकेको छ । ती आक्रमणमा कम्तीमा २४ जना इजरायलीको मृत्यु भएको छ भने सयौं घाइते छन् । केही मिसाइल आवासीय भवनमा ठोक्किँदा ठूलो भौतिक क्षति भएको छ ।
तर पछिल्ला दिनहरूमा इरानको प्रहार संख्या घट्दो क्रममा छ । इरानले यसको कारण सार्वजनिक नगरे पनि इजरायली आक्रमणले क्षेप्यास्त्र प्रक्षेपणस्थलहरू ध्वस्त पारेको हुनसक्ने अनुमान गरिएको छ ।
ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा ‘बिना सर्त आत्मसमर्पण’को माग गर्दै इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई कहाँ लुकेका छन् भन्ने थाहा भएको दाबी गरेका छन् । यद्यपि उनलाई तत्काल मार्ने योजना नरहेको बताएका हुन् ।
ह्वाइट हाउसका अनुसार ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच मंगलबार फोन वार्ता भएको छ । दुबैले क्षेत्रीय संकटको समग्र अवस्था र भावी रणनीतिबारे छलफल गरेका छन् ।
इरानी राजदूत बाहरेनीले ट्रम्पका अभिव्यक्तिलाई ‘अनावश्यक र आक्रामक’ भन्दै इरानले गम्भीर रूपमा लिएको बताए । उनले भने, ‘रेड लाइन नाघिएमा इरानले कठोर प्रतिक्रिया दिनेछ ।’
संघर्ष सुरु भएदेखि बन्द रहेको इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि पुनः सञ्चालनमा आएको एपीन्युजले जनाएको छ । साइप्रसको लार्नाकाबाट आएका दुई विमान तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
इजरायलले बलिस्टिक मिसाइल हमलाको डरले आफ्नो हवाई आकाश बन्द गरेको थियो, जसका कारण हजारौं इजरायलीहरू विदेशमा अलमल परेका थिए । यो द्वन्द्वले हवाई मार्ग प्रभावित बनाएको छ ।