काठमाडौं, ५ असार । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशभर ११ वटा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको बिहीबार बिहानसम्मको जानकारीअनुसार वर्षाका कारण ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ५ एकतर्फी सञ्चालनमा आएको छ ।
धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटीमा पर्ने मुख्य राजमार्ग वर्षापछिको बाढीपहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिले सिन्धपाल्चोकको भोटेकोसीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध छ । भोटेकोसी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो जाँदा बेनी–जोमसोम सडक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध छ ।
प्रहरीका अनुसार धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध बीपी राजमार्ग, चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फ खुलाइएको सञ्चालनमा आएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर, जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरोले अवरुद्ध जुम्ला–मुगु सडक पनि एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ ।
