गोप्य फोन संवाद लिक भएपछि थाई प्रधानमन्त्रीको पद संकटमा

अनलाइनसमय |
५ असार २०८२
गोप्य फोन संवाद लिक भएपछि थाई प्रधानमन्त्रीको पद संकटमा

काठमाडौं, ५ असार । थाई प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको गठबन्धन सरकार संकटमा परेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँगको गोप्य टेलिफोन संवाद सार्वजनिक भएपछि उनको नेतृत्वमा रहेको गठबन्धन सरकार धरापमा परेको हो ।

३८ वर्षीया पेटोन्टार्नले दक्षिणपूर्वी एसियाली राजनीतिक क्षेत्रका वरिष्ठ नेतासमेत रहेका हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै विवादास्पद कुरा गरेको फोन संवाद लीक भएको बीबीसीले जनाएको छ । सो संवादमा उनले एक थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने अभिव्यक्ति दिएको सुनिन्छ ।

सार्वजनिक दबाब चुलिंदै जाँदा प्रधानमन्त्री पेटोन्टार्नले बिहीबार माफी माग्दै भनिन्, ‘कम्बोडियाली नेतासँगको मेरो कुराकानीको लीक भएको अडियोको लागि म माफी माग्न चाहन्छु जसले जनतामा आक्रोश निम्त्याएको छ ।’

यता गठबन्धनमा रहेको दोस्रो ठूलो दल भुमजाईथाई पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । यसले संसदमा प्रधानमन्त्रीको बहुमत धरापमा पारेको हो ।

अब सरकारसँग झिनो बहुमत मात्र बाँकी रहेको छ । अरु दलहरूले पनि गठबन्धन त्यागेमा पूर्णतः गुम्ने सम्भावना रहेको बीबीसीले लेखेको छ । गठबन्धनका दुई अन्य दलले बिहीबार साँझ बैठक बोलाएर आगामी निर्णय गर्ने तयारी गरेका छन् ।

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले उक्त संवाद आफूले ८० जना नेताहरूलाई दिएको र तीमध्ये एक जनाले लीक गरेको बताएका छन् । उनले त्यसपछि १७ मिनेट लामो अडियो क्लिप आफ्नै फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् ।

पेटोन्टार्नले गतवर्ष अगस्टमा प्रधानमन्त्री पद सम्हालेकी हुन् । उनका पूर्ववर्ती स्रेटा थाविसिनलाई संवैधानिक अदालतले मन्त्रिपरिषद् नियुक्तिसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा हटाएको थियो । पेटोन्टार्न, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् । उनी थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस