राष्ट्र बैंकको प्रतिवेदन : मधेसमा घट्यो कृषि बालीले ओगटेको क्षेत्रफल

अनलाइनसमय |
६ असार २०८२
राष्ट्र बैंकको प्रतिवेदन : मधेसमा घट्यो कृषि बालीले ओगटेको क्षेत्रफल

काठमाडौं, ५ असार । चालू आर्थिक वर्ष (आव)को अर्ध–वार्षिक अवधिमा मधेश प्रदेशको कृषि उपज घटेको छ । प्रदेशको कृषि बाली प्राय वर्षामा निर्भर रहेको तथा यो वर्ष कम वर्षा भएकाले कृषि बालीले ओगटेको क्षेत्रफलमा कमी आएको अनुमान गरिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार गत पुस मसान्तसम्ममा प्रदेशको प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल २ दशमलव ९३ प्रतिशतले घटेर ९ लाख ५२ हजार ५ सय १९ हेक्टरमा कायम भएको छ । गत आवको सोही अवधिमा ७ दशमलव ८४ प्रतिशतले बढेर ९ लाख ८१ हजार २ सय ९२ हेक्टर पुगेको थियो ।
प्रमुख कृषि बालीअन्तर्गत खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला रहेको तथ्याङ्क छ ।

समीक्षा अवधिमा समग्र खाद्य तथा अन्य बालीले ओगटेको भू–भागमा ४ द शमलव ५० प्रतिशतले घटेर ८ लाख २९ हजार ८८ हेक्टर रहेको छ । गत आवको सोही अवधिमा यस्तो क्षेत्रफल ८ दशमलव ०१ प्रतिशतले बढेर ८ लाख ६८ हजार १ सय ३८ हेक्टर पुगेको थियो ।

२०८१ साउनदेखि पुससम्मको अवधिमा कोदोले ओगटेको क्षेत्रफल ७ दशमलव ५२ प्रतिशत, जौले ओगटेको क्षेत्रफल ७८ दशमलव ४० प्रतिशत, उखुले ओगटेको क्षेत्रफल १२ शदमलव २७ प्रतिशत र आलुले ओगटेको क्षेत्रफल २ दशमलव ०३ प्रतिशतले बढेको तथ्याङ्क छ । तर धान बालीले ओगटेको क्षेत्रफल २ दशमलव ३७ प्रतिशतले घटेर ३ लाख ७४ हजार १ सय १७ हेक्टर, गहुँले ओगटेको क्षेत्रफल २ दशमलव ८८ प्रतिशतले घटेर १ लाख ९१ हजार १ सय १३ हेक्टर र मकैबालीले ओगटेको क्षेत्रफलमा २ दशमलव ८५ प्रतिशतले घटेर ५२ हजार ७ सय २५ हेक्टरमा सिमित भएको छ ।

समीक्षा अवधिमा धान बालीले ओगटेको क्षेत्रफलमा बारा जिल्लामा ७ दशमलव ६३ प्रतिशतले बढेको छ भने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा क्रमशः ५ दशमलव ४७ प्रतिशत, शून्य दशमलव २२ प्रतिशत, ५ दशमलव ५६ प्रतिशत, १३ दशमलव २२ प्रतिशत, ४ दशमलव ६४ प्रतिशत, शून्य दशमलव १० प्रतिशत र शून्य दशमलव ४० प्रतिशतले कमी आएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस