ताइवान स्ट्राइटमा बेलायती युद्धपोतको गस्तीप्रति चीनको आपत्ति

अनलाइनसमय |
६ असार २०८२
ताइवान स्ट्राइटमा बेलायती युद्धपोतको गस्तीप्रति चीनको आपत्ति

काठमाडौं, ६ असार । ताइवान स्ट्राइट हुँदै बेलायती युद्धपोत एचएमएस स्पेले गरेको गस्तीप्रति चीनले आपत्ति जनाएको छ । चीनको रक्षा मन्त्रालयले बेलायती नेभीको उक्त गतिविधिलाई ‘जानाजान गरिएको उक्साहट’ भन्दै क्षेत्रीय शान्ति र स्थायित्वमा खलल पुगेको दाबी गरेको हो ।

ब्रिटिश रोयल नेभीले बुधबार एचएमएस स्पेको गस्ती लामो समयदेखि योजनाबद्ध तैनाथीको हिस्सा भएको र अन्तर्राष्ट्रिय कानून अनुसार भएको बताएको छ । तर चीनले बेलायतमाथि अन्तर्राष्ट्रिय कानुनी मापदण्डको ‘भ्रामक व्याख्या’ गर्दै जनमतलाई दिशाहीन बनाउन खोजेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

चार वर्षमा बेलायती नौसेना जहाजद्वारा गरिएको यो पहिलो गस्ती हो । बेलायती वाहक स्ट्राइक समूह केही महिनासम्म चल्ने तैनाथीको लागि यस क्षेत्रमा आइपुग्दा यस्तो भएको हो ।

चीनको तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘यस्ता कार्यहरू जानाजानी उत्तेजना हुन् जसले परिस्थितिलाई बाधा पुर्‍याउँछ र ताइवान जलडमरूमा शान्ति र स्थिरतालाई कमजोर बनाउँछ।’ चीनले उक्त युद्धपोतको हरेक गतिविधिको निगरानी गरिएको बताइएको छ ।

यसैबीच ताइवानले भने बेलायती युद्धपोतको गस्तीको स्वागत गरेको छ । ताइवानको परराष्ट्र मन्त्रालयले उक्त गस्तीलाई ‘नौवहन स्वतन्त्रताको समर्थन’ तथा ‘क्षेत्रीय स्थायित्वको रक्षा’को कदम भनेर प्रशंसा गरेको छ ।

बेलायतको एचएमएस स्पे युद्धपोत सन् २०२१ पछि पहिलोपटक ताइवान स्ट्राइटमा गस्तीमा गएको हो । सन् २०२१ मा बेलायती युद्धपोत एचएमएस रिचमन्ड भियतनाम जाँदा पनि चीनले यसरी नै आपत्ति जनाउँदै निगरानीमा राखेको थियो ।

यसपटकको गस्ती एचएमएस प्रिन्स अफ वेल्स विमानवाहक पोत नेतृत्वको बेलायती क्यारियर स्ट्राइक समूहको इन्डो–प्यासिफिक क्षेत्रका लागि आठ महिनाको तैनाथी सुरुवातको सन्देशस्वरूप गरिएको बताइएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले यसलाई यस शताब्दीको सबैभन्दा ठूलो वाहक तैनाथी मध्ये एकको रूपमा वर्णन गरेका छन् । जसको उद्देश्य ‘हाम्रा विरोधीहरूलाई शक्तिको स्पष्ट सन्देश र हाम्रा सहयोगीहरूलाई एकता र उद्देश्यको सन्देश पठाउनु’ हो ।

यस अभियानमा करिब ४ हजार बेलायती सैनिक खटिएका छन् । उक्त समूहले अमेरिका, भारत, सिंगापुर र मलेसियालगायत ३० देशहरूसँग संयुक्त सैन्य अभ्यास र रणनीतिक भेटघाट गर्ने तयारी गरेको छ ।

चीन र ताइवानबीच पछिल्ला दिनहरूमा सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । ताइवानका नयाँ राष्ट्रपति लाई छिङ–थेले चीनलाई ‘विदेशी शत्रुतापूर्ण शक्ति’को संज्ञा दिँदै चीनविरुद्धका कडा नीति घोषणा गरेका छन् । चीनले समेत गत अप्रिलमा ताइवान वरपर गोली चलाउने सैन्य अभ्यास गर्दै मुख्य बन्दरगाह र ऊर्जासम्बन्धी संरचनामा आक्रमणको अभ्यास गरेको दाबी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस