काठमाडौं, ६ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को अर्ध–वार्षिक अवधिमा मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कृषि कर्जा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कृषि कर्जा ६४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ, जुन गत आवको अर्ध–वार्षिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा १० दशमलव ३५ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १३ दशमलव २३ प्रतिशत रहेको छ । प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सर्लाही जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा बढी १६ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा ८ प्रतिशत रहेको छ ।