काठमाडौं, ८ असार । अमेरिकाले आइतबार बिहान इरानका मुख्य परमाणु केन्द्रहरूमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोर्डो, नाटान्ज र इस्फाहानस्थित केन्द्रहरूमा गरिएको हमलाबाट ती संरचनाहरू पुरै ध्वस्त भएको दाबी गरेका हुन् ।
इरानले सम्झौता नगरे थप ठूला हमला हुन सक्ने ह्वाइट हाउसबाट ट्रम्पले चेतावनी दिएको सीएनएनले जनाएको छ ।
इरानको परमाणु ऊर्जा संस्थाले अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा आपत्ति जनाएको छ । इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार उक्त निकायले आफ्नो परमाणु कार्यक्रम ‘कहिल्यै रोक्दैनौं’ भन्दै अमेरिकालाई प्रत्युत्तरको चेतावनी दिएको छ । सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले भने यस विषयमा अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।
यसबीच इजरायल र इरानबीचको तनाव झनै चर्किएको छ । शनिबार इजरायली सेनाले इरानको इलीट कुद्स फोर्सका दुई वरिष्ठ कमान्डर मारिएको दाबी गर्दै इरानी सैन्य संरचनामाथि हमला गरेको जनाएको छ ।
अमेरिकी आक्रमणपछि इरानको प्रतिक्रिया र इजरायल–इरानबीचको सैन्य गतिविधिले पश्चिम एसियामा नयाँ संघर्ष चर्किने आशंका बढेको छ । अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास कमजोर हुँदै गएको विश्लेषकहरूको भनाइ छ ।