काठमाडौं, ८ असार । वैदेशिक व्यापारका लागि हाल नेपालमा २८ ओटा नाका प्रयोगमा छन् । तीमध्ये अधिकांश नाकाबाट आयात मात्र हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा १ ओटा नाकाबाट मात्र आयात–निर्यात हुन्छ । तर बाँकी १० ओटा नाकाबाट कुनै पनि सामान विदेश गएको छैन, अर्थात् निर्यात शून्य छ ।
विभागका अनुसार चालू आवको साउनदेखि जेठसम्ममा तातोपानी, सुथौली, सुनसरी, जनकपुर, चोभार, महेशपउर, राजविराज, गौतमबुद्ध विमानस्थल, टाँडी र त्रिवेणी नाकाबाट शून्य निर्यात छ । जबकी यी नाकाबाट आयात भने ठूलै परिमाणमा गरिन्छ ।
शून्य निर्यात भएका नाकामध्ये सबैभन्दा धेरै आयात तातोपानी नाकाबाट भएको छ । गत जेठसम्ममा यो नाकाबाट ४६ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको देखिन्छ । यस्तै सुथौलीबाट ४ अर्ब ५८ करोड ४३ लाख, सुनसरीबाट १ अर्ब ९६ करोड ६६ लाख र चोभार नाकाबाट १ अर्ब ५२ करोड १० लाख रुपैयाँको वस्तु आयात भएको तथ्याङ्क छ ।

चालू आवको ११ महिनामा २८ नाकामध्ये १९ ओटाबाट मात्र वस्तु निकासी भएको भन्सारको तथ्याङ्क छ । सो अवधिमा सबैभन्दा धेरै निकासी विरगञ्जबाट भएको छ । यो नाकाबाट ९१ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु बाहिरिएको छ । यसैगरी विराटनगरबाट ६५ अर्ब १८ करोड, त्रिभुवन विमानस्थलबाट ३२ अर्ब २९ करोड, मेचीबाट २३ अर्ब २८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने भैरहवाबाट १८ अर्ब ५८ करोड रुपैयाँको बाहिरिएको हो ।

भन्सार विभागका अनुसार आवको साउनदेखि जेठसम्ममा सबै नाकाबाट आयात भएको देखिन्छ । सो अवधिमा सबैभन्दा धेरै आयात विरगञ्जबाट नै भएको छ । यस नाकाबाट ५ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँको वस्तु भित्रिएको छ । यसैगरी भैरहवाबाट २ खर्ब ४० अर्ब ४८ करोड, सुक्खा बन्दरगाहबाट २ खर्ब ४ अर्ब ९२ करोड, विराटनगरबाट १ खर्ब ८९ अर्ब ८६ करोडको आयात हुँदा त्रिभुवन विमानस्थलबाट १ खर्ब ३० अर्ब ५६ करोड रुपैयाँको भित्रिएको तथ्याङ्क छ ।
भन्सार विभागका अनुसार जेठसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा १८ दशमलव ८० प्रतिशत बढी हो । गत आवको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको व्यापार भएको थियो ।
