काठमाडौं, ८ असार । इरानमाथिको अमेरिकी हमलापछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिसँग संवाद गर्ने कुनै योजना नरहेको क्रेमलिनले आइतबार जनाएको छ । तर आवश्यक परेमा छिट्टै फोन वार्ता मिलाउन सकिने रुसको सरकारी समाचार संस्था टासले जनाएको हो ।
रुस र इरानबीच यस वर्ष जनवरीमा ‘सम्पूर्ण साझेदारी सम्झौता’ भएको थियो । यसले दुवै देशबीच नजिकको रणनीतिक सम्बन्धलाई थप मजबुत बनाएको सीएनएनले उल्लेख गरेको छ । तर यस सम्झौतामा यदि एउटामाथि आक्रमण भयो भने अर्को देशले त्यसको रक्षा गर्नैपर्ने कडाइ भने राखिएको छैन ।
यसैबीच बिहीबार पुटिन र चिनियाँ नेता शी जिनपिङबीच फोन वार्तामा इरानमाथि इजरायली आक्रमणको कडा निन्दा गरिएको क्रेमलिन र चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएका छन् ।
‘ठूला शक्तिहरूले विवादमा संलग्न पक्षहरूलाई तनाव घटाउन सहयोग गर्नुपर्छ, विपरित होइन,’ अमेरिका उल्लेख नगरे पनि शीले ट्रम्पलाई लक्षित गरी भनेका छन् ।