काठमाडौं, ९ असार । इजरायलबाट नेपाल फर्किन हालसम्म ८८५ जनाले विवरण दर्ता गराएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतितिधिसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा इजरायलमा नेपालीको विवरण संकलनका लागि बनाइएको अनलाइन पोर्टलमा ८ सय ८५ जनाले नाम दर्ता गराएको जानकारी दिएकी हुन् ।
मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने काम गरिरहेको बताइन् । इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
सरकारले इजरायल–इरानबिच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई जुन १७ बाट अनलाइन पोर्टलमार्फत विवरण लिन सुरू गरेको थियो ।
सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ । उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताइन् ।
अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।