काठमाडौं, १० असार । इरान र इजरायलबीच युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । सम्भावित आपूर्ति अवरोधको चिन्ता कम भएपछि लगानीकर्ताहरू ढुक्क बनेको सीएनएनले जनाएको हो ।
मंगलबार युरोपेली बजार खुल्दा अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट कच्चा तेलको मूल्य ३.७ प्रतिशतले घट्दै प्रति ब्यारेल ६५.९ डलरमा झरेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा प्रयोग हुने ब्रेन्ट क्रुडको मूल्य ३.८ प्रतिशतले घटेर प्रति ब्यारेल ६८.८ डलरमा कायम भएको छ ।
सोमबार इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि लक्षित मिसाइल आक्रमण गरेको घटनाले तेल बजारमा व्यापक असर पारेको सीएनएनले उल्लेख गरेको छ । उक्त दिन अमेरिकी क्रुडको मूल्य ७.२ प्रतिशतले घट्दै ६८.५१ डलरमा झरेको थियो, जुन सन् २०२२ को अगस्टयता कै सबैभन्दा ठूलो परिमाणमा ह्रास आएको हो । ब्रेन्ट क्रुड पनि सोही अनुपातमा घटेर ७१.४८ डलरमा बन्द भएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति सामाजिक सञ्जालमार्फत इरान र इजरायलबीच ‘पूर्ण र समग्र युद्धविराम’ भएको घोषणा गरेका थिए । उनले भनेका छन्, ‘युद्धविराम अहिले प्रभावमा आइसकेको छ ।’ इरान र इजरायलका सरकारी सञ्चारमाध्यमहरूले पनि युद्धविराम सुरु भएको पुष्टि गरेका छन्, यद्यपि सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।