काठमाडौं, ११ असार । हरेक वर्षको असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तदअनुसार ९७ प्रतिशत गाउँपालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघका अनुसार नेपालमा भएका ४६० गाउँपालिकामध्ये ४४५ ले असार १० गतेसम्ममा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन् । बाँकी रहेका १५ गाउँपालिकाले भने अझै बजेट सार्वजनिक गरेका छैनन् ।
महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका छन् । अन्य प्रदेशहरूमा भने केही गाउँपालिकाहरूले अझै बजेट पेस गर्न सकेका छैनन् ।
बजेट नल्याउने गाउँपालिकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा छन् । त्यहाँका ५९ गाउँपालिकामध्ये ५० ले बजेट ल्याए पनि ९ गाउँपालिकाको बजेट अझै आउन बाँकी छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका २/२ गाउँपालिका तथा बागमती र कर्णाली प्रदेशका १/१ गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् ।
प्याकुरेलका अनुसार ती गाउँपालिकाहरूमा बजेट पेश गर्न नसक्नुका कारणहरूमा अध्यक्ष अस्वस्थ भएर कार्यक्षेत्रबाहिर रहनु, जनप्रतिनिधिहरूबीच मतभेद, बजेट विनियोजनसम्बन्धी विवाद तथा तयारीका लागि समय अभाव मुख्य हुन् ।