काठमाडौं, ११ असार । कोशी प्रदेशमा कृषि कर्जा घटेको छ ।
केन्द्रीय बैङ्कले मंगलबार सार्वजनिक गरेको ‘अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८/८२’ मा चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ५ दशमलव ०२ प्रतिशतले घटेको छ । सो अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट ५६ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ६ दशमलव १ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा कोशी प्रदेशमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ९ दशमलव ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० दशमलव ८ प्रतिशत रहेको थियो ।
चालू आवको पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरुमा प्रवाहित कर्जा मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २७ दशमलव ६ प्रतिशत रहेको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १९ अर्ब ४२ करोड रुपैयाँ अर्थात ३४.१ प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम ३५ करोड ३९ लाख रुपैयाँ अर्थात शून्य दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुससम्म बैंक तथा वित्तीय क्षेत्रबाट कृषि क्षेत्रमा गएको कर्जा ०.९ प्रतिशतले घटेको छ ।