काठमाडौं, ११ असार । कोशी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ६ प्रतिशत रहेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ६ दशमलव ९ प्रतिशतले बढेको हो । गत आवको प्रथम अर्धवार्षिक अवधिमा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ४१ दशमलव ७ प्रतिशत रहेको थियो । यो नमुना छनौटमा समेटिएका ४३ उद्योगको औसत क्षमता हो ।
समीक्षा अवधिमा भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी १०७ दशमलव १ प्रतिशत रहेको छ भने सबैभन्दा कम घरेलु धातुका सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ४ दशमलव ३ प्रतिशत रहेको छ ।
यस्तै औसतमा ५० प्रतिशत वा सो भन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरु १२ वटा रहेका छन् भने ५० प्रतिशत भन्दा कम क्षमता उपयोग गर्ने उद्योग समूहहरूको संख्या १३ वटा रहेको छ ।

समीक्षा अवधिमा भटमासको तेल, कच्चा छाला, इँट्टा, तोरीको तेल, आदि उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएकाले उद्योगहरुको औसत क्षमता उपयोगमा समेत केही वृद्धि भएको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भटमासको तेल उत्पादन सबैभन्दा बढी ६४१ दशमलव ०५ प्रतिशतले वृद्धि भएको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढि ७९ दशमलव ५३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा भटमास तेलको उत्पादन क्षमताको १४ दशमलव ५ प्रतिशत रहेकोमा समीक्षा अवधिमा उत्पादन क्षमताको १०७ दशमलव १ प्रतिशतमा उद्योगहरु सञ्चालनमा रहेको पाइयो । विगतमा भटमास तेलको निर्यात भारतीय बजारमा बन्द रहेकोमा समिक्षा अवधिमा भारतीय बजारमा निर्यात भइरहेकाले उत्पादन क्षमता भन्दा पनि बढीमा उद्योगहरु सञ्चलानमा रहेको देखिन्छ ।
त्यसैगरी घरेलु धातुका सामानहरुको न्यून माग तथा भारतीय बजारमा उक्त सामानहरु सस्तो हुने हुँदा निरन्तर घरेलु धातुका सामानहरु उत्पादन घट्दै गएको देखिन्छ ।

गतवर्षको पहिलो ६ महिनामा भारतीय बजारमा भटमासको तेल निर्यात बन्द रहेकोले आधार अवधिमा उत्पादन थोरै मात्रमा भएको देखिन्छ भने समीक्षा अवधिको शुरुवात देखि नै भटमासको तेल भारततर्फ निर्यात भइरहेकाले उत्पादनमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।
कच्चा छाला उत्पादन र इँट्टा उत्पादन गर्ने उद्योगहरुको आधार अवधिको उत्पादन अत्याधिक न्युन रहेका कारण समीक्षा अवधिमा उत्पादन परिमाणमा उल्लेखनीय वृद्धि नभए तापनि प्रतिशत परिवर्तन उच्च देखिन्छ । घरेलु धातुका सामानको बजारमा मागमा आएको अत्याधिक कमीका साथै आयातित घरेलु धातुका सामानको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा निरन्तर रुपमा उत्पादन घटेको देखिन्छ ।
घट्यो कोशीमा औद्योगिक क्षेत्रमा रोजगारी
यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरुमा गत आव २०८०/८१ को पहिलो ६ महिनामा १७ हजार ७२० जना श्रमिक कार्यरत रहेकोमा समीक्षा अवधिमा ती उद्योगहरुमा जम्मा १७ हजार ३६२ जना श्रमिक कार्यरत रहेका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले घटेको देखिन्छ ।
सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका उद्योगहरुमा क्रमशः शून्य दशमलव ९ प्रतिशत, २ दशमलव ७ प्रतिशत, ५ दशमलव ८ प्रतिशत र १८ दशमलव ४ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् भने इलाम जिल्लाको रोजगारीको अवस्थामा कुनै परिवर्तन भएको देखिदैन ।
समीक्षा अवधिमा औद्योगिक रोजगारीमा पुरुषको संख्या ६९ दशमलव ५ प्रतिशत र महिलाको संख्या ३० दशमलव ५ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रका उद्योगहरुमा कुल औद्योगिक रोजगारीको ९१दशमलव ६ प्रतिशत श्रमिक स्वदेशी र ८ दशमलव ४ प्रतिशत श्रमिक विदेशी रहेका छन् ।
