काठमाडौं, १२ असार । जल तथा मौसम विभागले आज राति चार प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागले बिहीबार बिहान एक सूचना जारी गर्दै आज राति कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशमा भने राति हल्कादेखि मध्म वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
विभागका अनुसार आज दिउँसो भने गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैका कारण अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
