काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन् । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिन उनी आगामी शनिबार त्यहाँ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा स्पेनी समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने र विभिन्न सहकार्य सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ । भ्रमण अवधिभर प्रधानमन्त्रीले स्पेनस्थित नेपाली समुदाय, त्यहाँका उद्योगी व्यवसायी तथा सम्मेलनमा सहभागी अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार प्रधानमन्त्रीको भ्रमणका लागि सबै तयारी पूरा भएको छ र त्यहाँको नेपाली समुदाय स्वागतका लागि उत्साहित छ ।