काठमाडौं, १२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं आप्रवासीको शरणार्थी निवेदन खारेज गरी ती व्यक्तिहरूलाई देश निकाला गर्ने योजना बनाएको छ । स्रोतका अनुसार यो योजना राष्ट्रपति ट्रम्पको आप्रवासन नीतिको कडाइतर्फको पछिल्लो कदम हो ।
विशेष गरी यो कदमले अवैध रूपमा अमेरिका प्रवेश गरेर शरणार्थीका लागि आवेदन दिएका आप्रवासीलाई असर पुग्ने सीएनएनले उल्लेख गरेको छ । ती व्यक्तिहरूको केस बन्द गरी उनीहरूलाई देश निकाला गर्न सकिने छ ।
एक तथ्यांक अनुसार, सन् २०२३ मा शरणका लागि आवेदन दिने मध्ये करिब २५ प्रतिशतले आफूहरूले अमेरिका अवैध रूपमा प्रवेश गरेको बताएका थिए । यो संख्या करिब दुई लाख पचास हजार हुन सक्ने अनुमान गरिएको छ ।
अमेरिकी कानुन अनुसार आफ्नो देशमा हिंसा वा उत्पीडनको डर भएका व्यक्तिहरूले अमेरिका भित्र शरणको माग गर्न सक्छन् । तर ट्रम्पले आफ्नो कार्यकालमा विशेष गरी दक्षिणी सीमा हुँदै आउनेहरूका लागि शरण पाउने मार्गहरू झनै बन्द गराएका थिए ।