अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

अनलाइनसमय |
१३ असार २०८२
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं, १३ असार । देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की, सिन्धुली, बर्दिया, रूपन्देही, सिराहा, झापा, सुनसरीलगायत स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट फेनारगन, नुर्फिन र डाइजेपामसहित ३१ वर्षीय सुदिप विक पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरको टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी पोखरा–१० रंगशाला गेटबाट डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइन बोकेका २४ वर्षीय अर्पण बोहरा पक्राउ परेका छन् । उनीमाथि वडा प्रहरी कार्यालय रामबजारले कारबाही अगाडि बढाएको छ ।

सिन्धुलीको कमलामाई–९ भिमानबाट भने ठूलो परिणाममा लागूऔषध बरामद भएको छ । नाईट्राभेट २,८८० ट्याब्लेट र ट्रामाडोल २९,००० ट्याब्लेटसहित सर्लाहीका विक्रम चौधरी पक्राउ परेका हुन् । उनी बर्दिबासबाट काठमाडौं जाँदै गरेको हायस गाडीमा सवार थिए ।

बर्दियाको गुलरिया–११ गणेशपुर बाइपासबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १०० मिलिग्रामसहित शम्शेर खान र करण रोकाय पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

रूपन्देहीको सिद्धार्थनगर–४ उद्योगपुरीबाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन गरी ३०० एम्पुलसहित पिन्टु यादव र हरिद्वार कुर्मी पक्राउ परेका छन् । उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए ।

सिराहा, गोलबजार–६ लामा टोलबाट नाईट्राभेट २२ ट्याब्लेटसहित राजन कुमार साह पक्राउ परेका छन् । प्रहरीले उनको मोटरसाइकलसमेत बरामद गरेको छ ।

झापा, अर्जुनधारा–६ बाट १.८८८ किलो गाँजासहित ५९ वर्षीया अमृत माया लिम्बु र २० वर्षीय रोशन भट्टराई पक्राउ परेका छन् । लिम्बुको घरमा गाँजा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरीमा दुई फरक स्थानबाट ठूलो परिणाममा लागूऔषध बरामद गरिएको छ ।
बराहक्षेत्र–४ सुनसरी पुल नजिकबाट करीब ७५ किलो गाँजासहित ४५ वर्षीय सुरतलाल चौधरी पक्राउ परेका हुन्। उनले चलाएको अटोमा गाँजा लुकाइएको थियो ।

त्यस्तै, इटहरी–५ शिवालय टोलबाट ब्राउनसुगर जस्तो देखिने २ ग्राम पदार्थसहित प्रकाश विक र दिनेश आले पक्राउ परेका छन् ।

संबन्धित प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरूमाथि अवैध लागूऔषध कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस