अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस एवं ग्लोबल हाटबजारको २५औँ हप्ता सम्पन्न

अनलाइनसमय |
१३ असार २०८२
अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस एवं ग्लोबल हाटबजारको २५औँ हप्ता सम्पन्न

काठमाडौं, १३ असार । ग्लोबल आइएमई बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस र ग्लोबल हाटबजारको २५औँ हप्ता विशेष कार्यक्रमका गरी मनाएको छ । बैंकले आफ्ना लगानीप्राप्त लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजार प्रवर्धन र पहुँच विस्तारका लागि ग्लोबल हाटबजार सञ्चालन गर्दै आएको हो ।

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ नाराका साथ हरेक शुक्रबार बैंकको कमलादी शाखा परिसरमा सञ्चालन हुने यो हाटबजारमा रैथाने, अर्गानिक तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिन्छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले लघु, साना तथा मझौला व्यवसायले देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले हाटबजारले त्यस्ता व्यवसायको प्रवद्र्धन, बजारीकरण, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना तथा अर्गानिक र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याएको बताए ।

‘हामीले सानो तथा सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ,’ उनले भने, ‘यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्नेछ ।’

उक्त हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली र सो सम्बन्धित उत्पादनहरू, हस्तकला सामग्री, सजावटी बिरुवा लगायत दुई दर्जनभन्दा बढी कृषक तथा साना उद्यमीहरूका सामग्रीहरू प्रदर्शन तथा बिक्री गरिएको थियो ।

बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा नयाँ योजनाहरू ल्याउँदै आएको र देशभर सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनीको ‘अवार्ड फर एक्सलेन्स २०२४’ प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा मान्यता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस