के हो व्यतीत बीमालेख, किन बढ्दैछ ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१४ असार २०८२
काठमाडौं, १४ असार । नेपालमा बीमालेख व्यतीत हुने क्रम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गतवर्षको वैशाखसम्मको तुलनामा यस वर्षको सोही अवधिमा व्यतीत बीमालेख संख्या ११.६३ प्रतिशतले बढेको छ । यस्तै व्यतीत बीमालेख रकम भने करीब १९ प्रतिशतले बढेको छ । बीमालेख व्यतीत हुनुका प्रमुख कारणहरूमा अर्थतन्त्रको शिथिलता, बीमितको वित्तीय क्षमताको उचित मूल्यांकन नहुनु, बीमितको आवश्यकताअनुसारको बीमालेख विक्री नहुनु, बीमितमा बीमा शिक्षाको कमी लगायत रहेका छन् ।
बीमालेख व्यतीत हुनु भनेको बीमालेखको शुल्क तोकिएको समयमा नबुझाई समयावधि नाघेर सो बीमालेख स्वतःनिष्क्रिय वा रद्द हुनु हो । जब बीमालेख धारकले तोकिएको समयमा प्रिमियम तिर्दैनन्, त्यसपछि बीमाशुल्क तिर्ने अवधिसम्म प्रतीक्षा गरिन्छ । यस्तो समयावधि बीमालेख अनुसार १५ वा ३० दिन हुन्छ । सो अवधिमा पनि बीमाशुल्क नतिरेमा बीमालेख अमान्य हुन्छ । बीमालेख व्यतीत हुँदा बीमकहरूको व्यवसाय प्रभावित हुनुका साथै बीमितहरू बीमाका सुविधाबाट वञ्चित हुन्छन् ।
गतवर्षको वैशाखसम्ममा व्यतीत बीमालेख ११ लाख २३ हजार ७४२ रहेकोमा यस वर्षको सोही अवधिमा यो १२ लाख ५४ हजार ४७८ पुगेको छ । अर्थात् एक वर्षमै व्यतीत बीमालेख संख्या १ लाख ३० हजारले बढेको छ । यस्तै व्यतीत बीमाशुल्क गतवर्षको वैशाखसम्मको ३० अर्ब ९८ करोडबाट बढेर ३६ अर्ब ८६ करोड पुगेको छ । नेपालमा हाल व्यतीत बीमालेखको अनुपात २२ प्रतिशत छ ।
त्यसो त व्यतीत बीमालेख सहजै नवीकरण गराउन सकिन्छ ।यसका लागि बीमकहरूले बीमितलाई सूचित गर्नुका साथै विभिन्न छूट सुविधासमेत दिने गर्छन् । बीमा जोखिम हन्तान्तरण र भविष्यको बचत योजना समेत भएकाले यसको पूर्ण लाभ लिन बीमितले बीमालेख सक्रिय बनाइराख्नु आवश्यक छ ।
एक वर्ष अवधिमा समर्पितबीमालेख संख्या भने आधा प्रतिशतले घटेको छ । गतवर्षको वैशाखसम्ममा समर्पित बीमालेख ८९ हजार ७७ रहेकोमा यसवर्षको सोही अवधिमा ८८ हजार ६३५ ओटा रहेको छ । यद्यपि समर्पण रकम गतवर्षको १० अर्ब ९८ करोडबाट ११.७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको छ ।