काठमाडौं, १५ असार । आज देशभर २२औं राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइँदैछ । यसैबीच चामल आयातको तथ्यांकले सरकारी दाबी र यथार्थ फरक रहेको देखाउँछ । चालू आर्थिक वर्ष (आव)को ११ महिनामै करिब ३९ अर्बको धान–चामल आयात भएको छ ।
भन्सार विभागका अनुसार चालू आवको ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको ७ लाख ५३ हजार तीन सय पाँच मेट्रिक टन धान, चामल आयात भएकोे छ । यो गत आवको यसै अवधिको तुलनामा परिमाणका हिसाबले ९३ दशमलव ०५ प्रतिशत बढि हो । सो आवको ११ महिनामा २१ अर्ब १३ करोड ७ लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार २०८ मेट्रिक टन धान–चामल आयात भएको थियो ।
यो तथ्यांक अनुसार मुलुक अझै पनि खाद्यान्नमा परनिर्भर रहेको स्पष्ट देखिन्छ । कृषिजन्य वस्तुको उत्पादन वृद्धि हुन नसक्नु, उन्नत बिउको अभाव, समयमा रासायनिक मल नपाइनु, सिँचाइको कमी र खेतीयोग्य जमिन बाँझिनु जस्ता समस्याका कारण उत्पादन र उत्पादकत्व दुवैमा असर परेको कृषि विज्ञहरू बताउँछन् ।