काठमाडौं, १५ असार । करिब १ सय २० किलो अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुनेबाट शनिबार बेलुकी उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका–७ का २२ वर्षीय बिकास यादव रहेका छन् । उनीहरूलाई धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कार जाँच गर्दा पक्राउ गरिएको हो ।
प्रहरी चौकी भरौलबाट खटिएको टोलीले कार रोकी जाँच गर्ने क्रममा सवारी साधनभित्र लुकाइ राखिएको अवस्थामा ६ वटा पोका भेटिएको थियो । ती पोकामा गरी कुल १ सय २० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।